विमान दुर्घटना शोकमा भोलि सार्वजनिक बिदा


काठमाडौँ । सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान ११ बजे सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। जहाँ ७२ जना सवार थिए।