दुई विकास बैंकको सिडी रेसियो १०० माथि


काठमाडौं । दुई विकास बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) १०० प्रतिशत भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विकास बैंकका असोजसम्मको प्रमुख (अपरिस्कृत) वित्तीय सूचकहरूमा दुई बैंकको कर्जा निक्षेप अनुपात १०० माथि रहेको देखाएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकको कर्जा निक्षेप अनुपात १२१.६० प्रतिशत पुगेको छ भने नारायणी डेभलपमेन्ट बैंकको कर्जा निक्षेप अनुपात १०५.८० प्रतिशत पुगेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको कर्जा निक्षेप अनुपात भने ९९.७१ प्रतिशत रहेको छ भने सिन्धु विकास बैंकको ९२.१७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० भन्दामुनि हुनुपर्ने जनाएको छ । त्यसमा पनि दुई बैंकले निक्षेपभन्दा बढि कर्जा प्रवाह गरेका छन् । कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकले निक्षेपभन्दा बढि कर्जा प्रवाह गरेका हुन् ।

कर्जा निक्षेप अनुपात ९० प्रतिशत माथि पुर्याउने विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकले साउन र भदौमा दुई पटक हर्जना लगाएको छ । राष्ट्र बैंकले गैर स्थलगत सुपरिवेक्षणको आधारमा हर्जना लगाएको जनाएको छ । राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार रुपैँया हर्जना तिराएको छ भने भदौमा २३ लाख १४ हजार रुपैँया हर्जना तिराएको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा ४ लाख ६३ हजार रुपैँया हर्जना तिराएको छ भने भदौमा ५ लाख १६ हजार रुपैँया तिराएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले साउनमा २१ लाख ८० हजार रुपैँया र भदौमा २८ लाख ९७ हजार रुपैँया हर्जना लगाएको छ ।

सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले साउनमा १ लाख २६ हजार रुपैँया र भदौमा १६ लाख ९९ हजार रुपैँया हर्जना लगाएको राष्ट्र बैंकले जनाएको छ । खराब कर्जा सबैभन्दा बढि सप्तकोशी डेभलपमेन्ट बैंकको रहेको छ । यस बैंकको खराब कर्जा १४.१९ प्रतिशत रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६९ प्रतिशत, नारायणीको ४.६७ प्रतिशत र सिन्धु विकास बैंकको १.३० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।