एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै


काठमाडौँ । देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा ह्याकाथन हुने भएको छ।

शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै यही माघ २७ देखि माघ २९ गते आयोजना गर्न लागेको हो।

महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न एनसेलले शिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको हो ।

कार्यक्रमका अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा छन्। शिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने उल्लेख गरिएको छ । हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडौँ लगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका काम भइरहेको कम्पनीले जनाएको छ ।

यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करिअर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ।

यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको कम्पनीको भनाइ छ।

ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सकिने छ ।

दर्ता भएका समूहमध्येबाट छानिएका समुहको सूची माघ २० घोषणा गरिने उल्लेख गरिएको छ। शिक्वल फाउन्डेसनका अनुसार यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आइटीसम्बन्धी उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा समान सहभागिता बढाउँछ ।