नाडाका प्रतिनिधिले गरे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग भेटघाट


काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेका छन् ।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेल संग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ ।

छलफलमा उपप्रधानमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिएका छन् ।

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरेका थिए । सोही सन्दर्भमा उपप्रधानमन्त्र पौडेलले छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष थापाले सरकारले आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको र ८ महिना देखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध फुकुवा गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे । उनले सरकारको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए ।

उनले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने उल्लेख गरे ।

सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरिनु पर्ने र चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका अध्यक्ष थापाले अनुरोधभभ गरेका छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न (द इन्डीयन इकोनोमिक जोन) स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेका छन् ।

महासचिव उप्रेतिले काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि आग्रह गरेका छन् ।