डिजिटल मर्जर: मर्कन्टाइलको पुमोरी सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज


काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो बैंकिङ सफ्टवेयर प्रदान गर्न रणनीतिक सहकार्य भएको जनाएको छ।

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स प्रा.लि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने जनाइएको छ ।

नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीइओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् ।

रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ । नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ । परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन ९सीबीएस० विकास गर्ने अग्रणी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारीहरुले काम गरिरहेका छन् ।

मर्कन्टाइल अफिस सिस्टम्स प्रालि नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो । संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोलुसन पुमोरी नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो । यसले नेपाली बैकिङ्ग क्षेत्र, अन्तर्राष्ट्रिय बैकिङ्ग संस्था तथा वित्तिय संस्थाहरुलाई विगत ३२ वर्ष देखि टेवा पुर्याउँदै आएको छ ।