डब्लुटीओको सदस्य भएपछि अन्तर्राष्ट्रिय मुल्य मान्यता कायम गर्नुपर्छ: अर्थसचिव राय


काठमाडौं । अर्थसचिव तोयम रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सारका एक कर्मचारीलाई गरेको सम्मान कार्यक्रममा अर्थसचिव रायले मुलुक विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्नुपर्ने बताएका हुन् । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाई छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताए । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताएका हुन् । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ ।

अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेको भन्दै उनले भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताएका छन् । भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताए । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढाको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेका हुन् ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए ।

भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको जनाएको छ । अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए । अर्थमन्त्रालयले भ्याट प्रणाली लागु गर्दा उनले योगदान पु¥याएका थिए ।

भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।