भारतीय बजेट‌: नेपाललाई साढे पाँच अर्ब भारु अनुदान


काठमाडौं । भारतले नेपाललाई दिने अनुदान गत वर्षको विनियोजनभन्दा कम भएको पाइएको छ ।

गत वर्षको बजेटमा नेपाललाई ७ अर्ब ५० करोड रुपैयाँ भारु विनियोजन गरिएकोमा त्यहाँकी वित्तमन्त्री निर्मला सीथारमणले पेश गरेको आर्थिक वर्ष २०२३-२४ को बजेटमा ५ अर्ब ५० करोड भारु छुट्याइएको छ ।

यद्यपि, यो चालू आर्थिक वर्ष २०२२-२३ को संशोधित अनुमान ४ अर्ब २५ करोड रुपैयाँ भारुभन्दा केही बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०२१-२२ मा खुद ४ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ अनुदान दिइएको थियो ।

भारतले भुटान, नेपाल, श्रीलंका, माल्दिभ्स, मंगोलियासहितका देशहरूलाई बजेटमार्फत नै सहायता रकम छुट्याउँदै आएको छ।

भारतले यो वर्ष भुटानलाई २४ अर्ब रुपैयाँ सहयोग दिने जनाएको छ, जसमध्ये ७ अर्ब ६८ करोड रुपैयाँ ऋण हो ।

यो चालू आर्थिक वर्ष २०२२-२३ को संशोधित अनुमान २५ अर्ब भारुभन्दा केही कम हो भने बजेटको सुरु विनियोजन २२ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी हो ।