नेपाल बाहेक अन्य देशको नागरिकता र राहदानी लिएको छैन : अध्यक्ष हमाल


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल बाहेक अन्य देशको नागरिकता र राहदानी नलिएको बताएका छन् ।

सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष हमालले आफु विरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन गरेर चरित्रहत्या गर्न खोजेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित हुन् अध्यक्ष हमाल भन्छन् ‘आफुप्रति लक्षित गरि संचार माध्यममा तथ्यहीन समाचारहरु संप्रेषण हुनु गम्भिर बिषय होृ । मैले उनले करिव २० बर्ष देखी बिदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको हुँ । कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको र एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई गर्वको रुपमा लिएको छु ।’

लामो समयदेखि रहन गएको नेतृत्वविहीनको अवस्थालाई चिर्दै लगानी एंव व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दै २०७८ फागुनमा नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा आफूलाई नियुक्त गरेको हमालले उल्लेख गरेका छन्।

‘तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुआत गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो’, उनले विज्ञप्तिमा भनेका छन्।

यस प्रकारको क्रियाकलापबाट आफु कत्ति पनि विचलित नभएको र कानून बमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालन मार्फत मात्र देश संमृद्ध हुने उल्लेख गरेका छन् ।

साथै, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतीस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालनमा रचनात्मक सहयोगका लागि समेत उनले आग्रह गरेका छन् ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

लामो समयदेखि रहन गएको नेतृत्व विहिनको अवस्थालाई चिर्दै लगानी एंव व्यवस्थापन क्षेत्रमा राष्ट्रीय तथा अन्तराष्ट्रीय लामो अनुभवलाई मध्यनजर गर्दे २०७८ फागुनमा नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा मलाई नियुक्त गरेको कुरा यहाँहरु सबैलाई विदितै छ । तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यबस्थापकिय एंव अर्थतन्त्र बिस्तारमा नविनतम सुरुवात गरी नेपालको धितोपत्र बजारलाई अन्तराष्ट्रीय स्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो । साथ मेरो नियुक्ति भएको थियो ।

केही समय यता बोर्ड अध्यक्षका रुपमा म विरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उल्लेखित समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित छन । उक्त समाचार मार्फत मेरो चरित्र हत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिर रुपमा लिएको छु।यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्त अनुरुप हुनै सक्दैन । मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिव २० बर्ष देखी बिदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको छु । मैले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन । एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वको रुपमा लिएको छु ।

  • गत वर्ष धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भए पश्चात मैले यस बजारसंग सम्बन्धित विभिन्न सुधारका कार्यहरुलाई रफ्तारका साथ अगाडि बढाएको छु। नियमनकारी निकायको रुपमा रहेको बोर्डको काम कारवाहीलाई पूर्ण रुपमा पारदर्शी बनाएको छु । मैले अगाडि बढाएका कार्यहरु पूँजी बजारको अन्तराष्ट्रीय मान्यता अनुरुप नै रहेका छन । मेरो नेतृत्वमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा । प्रतिस्पर्धी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि मुख्य रुपमा देहाय अनुसारका कार्यहरु सम्पादन गरिएका छन्
  • लगानीकर्ताहरुले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (TMS ) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको छ ।
  • सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोवार बर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहने लगायतका समस्या रहेकोमा “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस निती अनुरुप १५ दिनभन्दा बढी कारोवार रोक्का नरहने व्यबस्था समेत लागु गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागी दिइएको निवेदन उपर आवश्यक छानबिन गरि बढीमा ३ दिन भित्र स्विकृती दिने व्यबस्था लागु गरिसकिएको छ।
  • सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा रु. १०० (एक सय) सेवा शुल्क लिन सक्ने बिगतको व्यबस्थामा परिमार्जन गरी बढीमा रु. ५ (पाँच) सेवा शुल्क लिन सक्ने व्यबस्था गरीएको छ।
  • – वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाईएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह ( Remittance ) औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय संचितिमा सहयोग पुगेको छ । यस व्यबस्थाले हुण्डी मार्फत हुने कारोवार निरुत्साहित हुने संभावना प्रवल देखिन्छ ।
  • नविनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपूँजी एंव धितो सुरक्षण नभएका “START-UP” का लागि पुँजी तथा व्यवसायीक ज्ञान बिना धितो दिन मिल्ने अन्तराष्ट्रीय अभ्यास अनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टिकृत लगानी कोष व्यबस्थापकलाई अनुमति पत्र जारी गरीएको ।
  • धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा “कोटा प्रणाली” मार्फत अनुमति प्रदान गरिदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष , पारदर्शी र प्रतिष्पर्धी बनाउन “Open Entry and Exit ” निती मार्फत मापदण्ड पुग्ने सवैलाई ३५ दिन भित्र सिमा समय तोकि अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृती गराई आवेदन आह्वान गरीएकोमा सम्मानीत सर्वोच्च अदालतवाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको ।
  • धितोपत्र वजारमा लगानीकर्ताको पहुँच वृद्दि संगसंगै प्रतिस्पर्धी अन्तराष्ट्रीय प्रविधीयुक्त धितोपत्र वजारका लागी आवश्यक आवेदन कार्य अगाडी वढाईएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालीन आदेश बमोजीम सो सम्वन्धी कार्य हाल स्थगनमा रहेको ।
  • वस्तु विनिमय संयन्त्र विकासका लागी आवस्यक कार्य अगाडी वढाईएको छ । वस्तु विनिमय बजार सम्वन्धी ऐन, २०७४ तथा वस्तु विनिमय वजार सम्वन्धी नियमावली, २०७४ जारी भएको पांच वर्ष सम्म पनि यस सम्वन्धी आवश्यक कार्य अगाडि नवढिरहेको अवस्थामा वस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९ । ०६ । ०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम सो सम्वन्धी कार्य स्थगन गरिएको छ ।
  • धितोपत्र सम्बन्धी कसूरहरुमा संगठित संस्थाका संचालकहरुलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाईएको छ ।
  • धितोपत्र सम्बन्धी ऐन र सो अन्तरगत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचीत गरिएको । त्यस्तै क्रेडिट रेटिङ्गमा “स्वार्थको द्वन्द्ध” देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढाईएको ।
  • धितोपत्र बजारमा शुरु भएको विभिन्न सुधारको अभियानको क्रममा बोर्ड अध्यक्ष प्रति लक्षित गरि संचार माध्यममा यसरी तथ्यहीन समाचारहरु संप्रेषण बिषय हो । पद्धति र थिति निर्माण गरी यस क्षेत्रमा भएको उल्लेखनीय हस्तक्षेप एंव बिगत देखि निहित स्वार्थ समुहको ईच्छाबिपरित साहसिक रुपमा ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुवाट संप्रेषित समाचारहरु स्वत खण्डनीय नै छन । निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा समेत राख्दछु । यस प्रकारको क्रियाकलापबाट म कत्ति पनि विचलित भएको छैन । कानून बमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालन मार्फत मात्र देश संमृद्ध हुने व्यहोरा अनुरोध गर्दछु । साथै, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतीस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालनमा रचनात्मक सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्न चाहन्छु।