सिनामंगलमा पाँचतारे एयरपोर्ट होटल र सम्मेलन केन्द्र बन्ने


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौंको सिनामंगलमा पाँचतारे विमानस्थल होटल तथा सम्मेलन केन्द्र (कन्भेन्सन सेन्टर) निर्माण गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने यात्रुलाई आवासको सुविधा प्रदान गर्ने उद्देश्यले र पर्यटन प्रवर्द्धन गर्ने प्राधिकरणको प्रयासको एक हिस्साका रूपमा प्रस्तावित परियोजना अघि सारिएको हो।

योजनाअनुसार प्रस्तावित होटल निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण (बुट) मोडालिटीअन्तर्गत निर्माण गरिने प्राधिकरणले जनाएको छ । होटलको क्षमता १५० भन्दा बढी कोठा र सम्बद्ध सेवाहरू हुने र पहिलो वर्षमा कोठा अकुपेन्सी ५० प्रतिशत हुने र क्रमिक रूपमा बढ्ने अपेक्षा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सिनामंगलस्थित आफ्नो ९१ रोपनी ६ आना जग्गामा जग्गामा नयाँ होटल तथा कन्भेन्सन सेन्टर निर्माण गर्न लागेको हो । एयरपोर्ट होटल र बहुउद्देशीय सम्मेलन केन्द्रसमेत निर्माण गर्नका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले अनुमति दिइसकेको जनाइएको छ ।

प्राधिकरणले आयोजनाको सम्भाव्यता अध्ययन गर्न, विस्तृत अवधारणा डिजाइन तयार गर्न र आयोजनाको वार्षिक लिज भाडा भुक्तानी र लिज अवधिलगायत परियोजनाको सम्भाव्यता मूल्याङ्कन गर्न परामर्शदाता नियुक्त गर्न लागेको छ । प्राधिकरणले नियुक्त गरेको परामर्शदाताले गर्ने सम्भाव्यता अध्ययनले आयोजनाको आर्थिक सम्भाव्यताको मूल्याङ्कन गर्नुका साथै सम्भावित चुनौतीको पहिचान गर्नेछ ।

परामर्शदाताले परियोजनाको सम्भाव्यता अध्ययन र अवधारणात्मक डिजाइन गर्नुपर्ने क्यानको सूचनामा उल्लेख छ ।  सम्भाव्यता विश्लेषणमा काठमाडौंमा विद्यमान र प्रस्तावित आवास र सम्मेलन सुविधाहरूको सिंहावलोकनका साथै होटल र सम्मेलन सुविधाको लागि बजार अवसरको पहिचान गर्नुपर्ने क्यानले बताएको छ । परामर्शदाताले पाँचतारे एयरपोर्ट होटलका लागि उपयुक्त आकारदेखि र होटल सञ्चालकको पहिचान गरी ‘फेजिङ प्लान’ समेत तयार गर्नेछ ।