लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न गम्भीर छौंः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भिर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले लघुवित्त क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  

उनले भने , ”लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाेइन । यो विषयमा गम्भिर भएर सरोकारवालाहरुसहित बैठक बसेका छौं । केही महत्वपूर्ण निर्णयहरु पनि गरेका छौं । लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यसलाई समस्या आउनुको कारणहरु खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरु लागि सकेका छन् । त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।”

उनले सरकारका नीतिगत प्राथमिकता र न्युनत साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए । अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताएका छन् ।