यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिंगो राष्ट्रको होः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिंगो राष्ट्रकाे मुद्दा भएको बताएका छन् ।

बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि स्मरण गरेका थिए ।

”हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि यातायात व्यवस्था सुधार सुझाव कार्यदल बनाएका छौँ ।”उपप्रधानमन्त्री श्रेष्ठले भने,”अब यातायाको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन । यो सिंगो देशको मुद्दा बनेको छ ।”

यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आस्वासन दिएका छन् ।

उनले भने, “हामी यातायात व्यवसायीले राखेका मागहरू सम्बोधन गरेर ठोस कदम चाल्न चाहन्छौँ । कार्यदलले हामीलाई जुन प्रतिवेदन दिन्छ, त्यसको आधारमा तपाईंहरूका मुद्दा पनि समेटेर ठोस कदम चाल्छौँ । तपाईंहरूको जायज माग पनि सम्बोधन गर्छौं ।’’

ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझावहरू समेटेर ४ पृष्ठको सुझाव पेश गरेका छन् । व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बीमा, पार्किङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

व्यवसायीहरूले सवारी कर र राजस्व, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बीमा तथा सवारी कानुन, पञ्जीकरण, विद्युतीय सवारी, ट्रकपार्क तथा हाइवे पार्किङ वे, तौलपुलको अनिवार्यता, यातायात निर्देशनालय बनाउनुपर्ने, तथा भारतीय सवारी साधनको अतिक्रमणलगायत विषयमा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।