अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले लघुवित्तबाट ऋण लिएका गरिब जनता झन गरिबीकाे आहालमा परेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले तत्कालको लागि आफ्नो अवस्था टार्नेको लागि ऋण लिदाँ गरिब जनताहरु झन मर्कामा परेको बताएका हुन् ।

उनले भने, “अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको हो ।’’

थापाले एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । थापाका अनुसार लघुवित्त संस्थाका कारण मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्नेुपर्छ ।

थापाले राष्ट्र बैंकले वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जान आवश्यक रहेको बताएका छन् ।