महासंघ चुनावः डेरी एसाेसिएशनले उमेशलाल समूहलाई सहयोग गर्ने 


काठमाडाैँ । नेपाल उद्याेग वाणिज्य महासंघकाे आगामी अधिवेशनकाे लागि चहलपहल सुरू भएकाे छ। हालका वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष हुने विधानकाे प्रावधान भएकाले वरिष्ठ उपाध्यक्षमा समूह बनाएर चुनावी कार्यक्रम हुन थालेका हुन् । 

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका उमेशलाल प्रधानकाे समूहलाई डेरी उद्याेगीहरूकाे संस्था नेपाल डेरी एसाेसिएशनले सघाउने घाेषणा गरेकाे छ । शनिवार भक्तपुरकाे घ्याम्पे डाँडामा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश समितिको मुख्य आयोजना सम्पन्न बनभाेज कार्यक्रममा यस्ताे घाेषणा गरिएकाे हाे । 

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एसाेसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले महासंघको आसन्न चुनावमा एसोसिएशनले उमेशलाल श्रेष्ठ प्यानललाई सहयाेग गर्ने घाेषणा गरेका हुन् ।

दाहालले बस्तुगत र एसोसिएटतर्फ रहेका सबै आफ्ना सदस्यलाई सहयोगका लागि आव्हान गर्ने प्रतिवद्धतासमेत जनाए । उनले महासंघले आगामी नेतृत्वले सबैकाे साझा बनेर दुग्ध क्षेत्र तथा अन्य वस्तुगत क्षेत्रका विषयमा गम्भीर भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नरेश श्रेष्ठसमेत १५ वटा बस्तुगत संघका अध्यक्षहरु, नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति, प्रदेश समिति, विभिन्न जिल्ला समिति, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, एमनेष्टिका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सनका निवर्तमान अध्यक्ष रितुराज सापकोटा, केन्द्रिय कोषाध्यक्ष प्रताप वहादुर थापा तथा बागमती प्रदेशका डेरी उद्योगीहरुको उपस्थिति रहेकाे थियाे । 

आगामी अधिवेसनका लागि वरिष्ठ उपाध्यक्षकाे चुनावी दाैडमा रहेका उमेशलाल प्रधान र अञ्जन श्रेष्ठले व्यक्तिगत रूपमा बढी खटेकाे देखिन्छ । दुबैले सचिवालय नै राखेर काम सुरू गरे पनि प्यानलकाे घाेषणा भने गरिसकेका छैनन् । 

वरिष्ठ उपाध्यक्षकाे दाैडमा रहँदै आएकाे बताइरहेका रामचन्द्र संघाई पनि चुनावी गतिविधीमा छन् ।  दिनेस श्रेष्ठ  पनि चुनावमा उठ्ने बताएका छन् । चुनावी गतिविधिमा भने खुलेर कम मात्र लागेका देखिन्छन्।