ललितपुर महानगरद्वारा १० सहकारी संस्था खारेज


काठमाडौ । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ अनुसार पाँच वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजी गरेकाे हाे ।

महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार पटक -पटक सूचना जारी गर्दा समेत सम्पर्कमा नआउने महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बडिखेल, पर्यटन सहकारी संस्था लि., प्रयास बहुउद्देश्यीय सहकारी संस्था लि, एभरग्रीन बचत तथा ऋण सहकारी संस्था लि, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लि. लाई महानगरपालिकाले कारबाही गरेको हो ।

त्यसैगरी पार्पीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि., राजवृक्ष जडिबुटी सहकारी संस्था लि., एभरेष्ट कृषि सहकारी संस्था लि., रातो सूर्य सूचना तथा सञ्चार लि. र भृगेश्वर उपभोक्ता सहकारी संस्था लि. समेत कारबाहीमा परेका छन् ।