आर्थिक समस्याबाट निकासका लागि काम गर्छु : अर्थमन्त्री महत


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका हुन् ।

पद तथा गोपनियताको शपथग्रहणपछि आज मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताएका हुन् ।

मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गर्ने उनको भनाई थियो । अर्थमन्त्री महतले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उल्लेख गरे ।

उनले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने उनको भनाई थियो ।

अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको उनले बताए । लघुवित्त र सहकारीहरूमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने अर्थमन्त्री महतको भनाई थियो ।

अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । उनले भने,“अहिले नेपालको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्रलाई सवल बनाउने खालका निर्णय सरकारले लिन्छ । मेरो सम्पूर्ण कोशिष अर्थतन्त्रमा देखिएको सुस्तता छ । त्यसलाई मन्दीमा जान नदिने सुनिश्चिता गर्न आवश्यक छ ।”

अर्थमन्त्री महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने अर्थमन्त्री महतको भनाई छ ।