काठमाडौं । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।
नेपालको संविधान २०८२ जारी भएको आज अर्थात् असोज ३ गते ११ वर्ष पुगेको छ । संविधान जारी भएको दिनको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो।
संविधान दिवसका अवसरमा सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा औपचारिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
संविधान दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन्।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, मौलिक हक तथा तीन तहको सरकारसहितको शासन प्रणालीलाई संस्थागत गरेको छ।
संविधान दिवसलाई नागरिकका अधिकार, कर्तव्य र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा समेत लिइँदै आएको छ।
दिवसका अवसरमा देशभर सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन, झण्डोत्तोलन, शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएका छन्।


प्रतिक्रिया दिनुहोस्