सरकारले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौति गर्दै पुँजीगत खर्चलाई तिब्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायिहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताए ।

उनले भने,“हाम्रो छिमेककै केही मुलुकहरु वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रुपले कठिन अवस्था परेको बेला हामीसँग भने १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने वैदेशिक सञ्चिति रहेको छ । यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ ।”

वाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक निती जरुरी रहेको र अहिले त्यो संकट टरिसकेको प्रचण्डले बताए ।

अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रको सूचकहरुमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजिगत खर्चलाई तिब्रता दिने सरकारको प्राथमिकता रहेको बताए ।

उनले भने,“सबभन्दा धेरै पुँजिगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ । म यो विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।”

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन गर्दा निर्माण व्यवसायीहरूको सहभागितालाई समेत सुनिश्चित गर्ने बताए । उनले सो कानून संशोधन गर्दा अन्य सराकारवालालाई समेत समेट्ने बताए ।