नेपाल र अमेरिकाबिच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने सरकारकाे निर्णय


काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबिच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ । नेपाल सरकारको फागुन ३० गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल र अमेरिकाबिच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय भएको बताएकी हुन् ।

यस्तै, पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।

नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक बैदेशिक भ्रमण नगर्ने निर्णय मन्त्री परिषद् बैठकले गरेको छ ।

तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभि प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने र रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने मन्त्री परिषद् बैठकले निर्णय गरेको छ।

यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरिएको छ।