‘किसानलाई मर्का पार्ने नियतले रासायनिक मलको मूल्यवृद्धि गरियो’


काठमाडौँ । वर्तमान सरकारले किसानलाई मर्का पार्ने नियतले रासायनिक मलको मुल्यवृद्धि गरेको नेकपा एमालेको महासचिव शंकर पोखरेलले बताए ।

आइतबार नेकपा एमाले केन्द्रिय कृषि तथा पशुपन्छी विभागद्धारा आयोजित पत्रकार सम्मलेनमा बोल्दै महासचिव पोखरेलले देशको आर्थिक पाटो डामाडोल भएको अवस्थामा कृषि क्षेत्रलाई पार्ने नकारात्मक प्रभावको बेवास्त गरि गरेको निर्णयले आउँदो दिनमा संकट निम्त्याउने बताएका हुन् ।

उनले भने, “कृषि क्षेत्रको समग्र बिकास गरेनौँ भने ‘सुखी नेपाली, समृद्धि नेपाल’ को परिकल्पना सम्भव हुदैँन । नेकपा एमालेको सरकार हुदाँ प्रधानमन्त्री कृषि आधुनिकिकरणबाट कृषि क्षेत्रमा नागिरकहरू उत्साहित थिए तर वर्तमान सरकारले यसलाई प्रथामिकता नदिदाँ निरूत्साहित भए । ”

पोखरेलले किसानले सधैँभरि रासायनिक मलको प्रयोगलाई प्रथामिकता नदिन आग्रह गरेका छन् । उनले भने, “माटोको सुरक्षाको सन्र्दभमा कम्पोस्ट मलको प्रयोगलाई सरकारले तीव्र रूपमा पहल गर्नुपर्छ । त्यो गर्दा रासायनिक मलको वर्षेनि समस्या भोग्नु पर्ने अवस्थाकाे अन्त्य हुन्छ ।’’

त्यस्तै नेकपा एमाले कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख गिरधारीलाल न्यौपानेले रासायनिक मलको मूल्यबृद्धि गर्दा उत्पादन लागत बढ्ने र उत्पादित कृषि उपजहरूको अत्यधिक मूल्य बृद्धि हुने बताएका छन् । उनका अनुसार मुल्यवृद्धि हुदाँ स्वदेशी भन्दा विदेशी उत्पादन सस्तो पर्ने र कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको प्रष्ट हुन्छ ।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरुले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरू गरेका छन्। सरकारको निर्णयानुसार यूरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपैयाँले मुल्यबुद्धि भएको छ ।