आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सम्झौता


काठमाडौँ । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झाैता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकको चाहना अनुसार अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध हुनेछ ।