सरकार परिर्वतनसँगै कस्तो रहला सेयरबजारको यात्रा ?


काठमाडौं । गत मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचन भएको ३६ दिनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भयो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले सहित केही दलहरूको गठबन्धनको समर्थन थियो ।

प्रचण्ड प्रधानमन्त्री बनेसँगै अन्य मन्त्रालयहरू कसको भागमा पर्दछ भन्ने धेरैको चासोको विषय बनेको थियो । खासगरी अर्थ मन्त्रालय माओवादीको भागमा पर्छ कि एमालेको भागमा पर्छ भन्ने मुख्य विषय बनेको थियो ।

गत पुस ११ गते अर्थ मन्त्रालय एमालेको भागमा पर्ने गाँइगुइसँगै करिब डेढ वर्षदेखि थला परेको सेयरबजार विस्तारै सलबलाउन थाल्यो ।

लामो समयदेखि थला परेको बजारले ‘सेयरबजार मैत्री’ अर्थमन्त्रीको खोजी गरिरहेको टिप्पणी भइरहेका बेला नेकपा एमालेका विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा पाउने पक्का भएपछि सेयरबजारको ‘इन्डेक्स’ तिब्र उकालो लाग्यो । फलस्वरुप पुस ११ गते नेप्से परिसूचक ५६.८८ अंकले बढेर १८६६.३७ अंकमा पुग्यो ।

अघिल्लो कार्यकालमा सेयरबजारको लागि ‘भाग्यमानी’ सावित बनेका पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ताको मनबोल पनि उच्च बनेको देखियो ।

नीतिगत रुपमा लामो समयको लागि केहि परिर्वतन नगरेपनि पौडेल लगानीकर्ताका र सेयरबजारको समस्या बुझ्ने अर्थमन्त्रीको रुपमा पुँजीबजारमा परिचित थिए ।

फलस्वरुप लगानीकर्ताको मनोभावना परिर्वतन भयो । अर्थमन्त्री नियुक्त भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद्को निर्णयले पुँजीबजारलाई सम्बोधन गरेसँगै लगानीकर्ताहरू बजार बढ्नेमा निश्चिन्त रहे । जसअनुसार पुस १२ गते नेप्से परिसूचक ५९.८७ अंकले बढ्यो ।

सेयरबजार अत्यन्तै संवेदनशील हुने हुँदा बजारमा आउने हरेक सन्देश र समाचारहरूले प्रभाव पार्न थाल्यो । एकातिर उच्च विन्दुमा पुगेको व्याजदर विस्तारै घटने कुरा र अर्थमन्त्रीमा पौडेलको साथले लागनीकर्ता पूर्णरुपमा ढुक्क बनेर कारोबार गर्न थाले ।

फलस्वरुप नेप्से इन्डेक्सले लगातार उचाई लिँदै गयो । पौडेल अर्थमन्त्री बनेको १२ दिनमा परिसूचक १८६७.२१ बाट बढेर २२११.७७ अंकमा पुग्यो । पूर्वअर्थमन्त्री जर्नादन शर्मासँग आजित परेका लगानीकर्ता पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको १२ दिनमै साढे ३ सय अंक बढेर अरबौ रकम बजारमा फर्किदा पुलकित बनेको विज्ञहरू बताउँछन् ।

पूर्व अर्थमन्त्री जर्नादन शर्मा र नेपाल राष्ट बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच चिसिएको सम्बन्धको चपेटामा सेयरबजार परेको लगानीकर्ताको दाबी थियो ।

तर सेयरबजारको त्यो उत्साह धेरै दिन टिक्न सकेन । फेरि राजनीतिक अस्थिरताको चपेटामा पुँजीबजार प¥यो । सरकार गठन भएको एक महिना पुरा नहुँदै सत्ता गठबन्धनमा खटपट सुरु भयो ।

प्रतिनिधि सभाको निर्वाचन पछि गठन भएको सत्ता गठबन्धन अन्तत डेढ महिना सम्म टिक्न सकेन । प्रधानमन्त्री प्रचण्ड सरकार गठन हुँदाको पूर्वसहमतिमा अडिग हुन सकेन । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै नेकपा एमाललेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई समेत फिर्ता बोलायो ।

यी सबै राजनीतिक क्रियाकलापको असर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेयरबजारमा देखिन थाल्यो फलस्वरुप नेप्से परिसूचक दिन दिनै आरालो लाग्दै गयो । पुसको २५ गते २२ सय अंक पार गरेको नेप्से परिसूचक चैत ५ गते १८ सयको हाराहारीमा झरेको छ ।
दैनिक ५÷ ६ अर्बको कारोबार भएको सेयर बजारमा अहिले मुस्किलले एक डेढ अर्बको कारोबार हुने गरेको छ ।

चैत ६ गते प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । अब सरकारको समिकरण नै परिर्वतन भएको छ । एमाले सरकारबाट बाहिरिएको छ भने नेपाली कांग्रेस सरकारमा हुने छ । नेपाली कांग्रेसले अर्थ मन्त्रालय पाउने चर्चा चलेको छ ।

सेयरबजारमा लगानीकर्ताको चासो राजनीतिक परिर्वतन भन्दा पनि नीतिमा हुने परिर्वतनमा हुनुपर्ने लगानीकर्ता नवराज दाहाल बताउँछन् ।

“सेयरबजार सम्बन्धित नीति, नियम र सिद्धान्त र त्यसमा आउने उतारचढावले चल्नु पर्ने हो,”दाहाल भन्छन्,“लगानीकर्तामा सेयर शिक्षाको कमिले भनौ, कुन चिज के सँग सम्बन्धित छ, कुन चिजमा के ले असर गर्छ भन्ने कुरा नबुझ्दा खेरी अलिकति पर्ख र हेरको अवस्थामा देखिन्छ ।”

पुराना लगानीकर्ता अथवा कोरोना काल भन्दा अगाडीका लगानीकर्ताहरु अहिले पर्ख हेर कै अवस्थामा बसिरहेका छन् भने लकडाउनको बेला भित्रिएका नयाँ लगानीकर्ताहरु अहिले टे«डर बनेको उनको भनाई छ ।

उनका अनुसार नयाँ लगानीकर्ताहरुले लामो समयको कारोबार नगर्ने,नेप्से स्थिर हुने गरी कारोबार नगर्ने र बजार आएका हल्लाको भरमा सेयर किनबेच गर्दा बजार अझै प्रभावित बनेको हो । “पछिल्लो समय अर्थतन्त्र सम्बन्धी नराम्रा समाचारहरू आएका छन्, जस्तै अमेरिकाका केही बैंकहरू अवस्था, राष्ट्र बैंकका गर्भरनरले देशको अर्थतन्त्रको विषयमा दिएका अभिव्यक्ति, अर्थविद्हरूका अभिव्यक्तिले गर्दा लगानीकर्तामा अन्योलमा रहेको छ ,” उनले भने ।

अब बन्ने सरकार पक्कै पनि स्थिर सरकार बन्न सक्छ त्यसैले अब सरकारलाई जति पनि आर्थिक सूचकहरू सुधार्न प्रेसर छ त्यति नै पुँजीबजारलाई ट्रयाकमा ल्याउन प्रेसर हुने उनको भनाई छ ।

सेयरबजार भनेको उच्च जोखिमसँगै उच्च प्रतिफलको क्षेत्र पनि हो यहाँ बजार सँधै बढ्छ भन्ने हुँदैन । सेयरबजारमा घटबढ हुने भएको हुँदा यहि घटबढलाई उपयोग गरेर लगानीकर्ताले मनग्ये नाफा कमाउन सक्छन् ।

सेयर बजार यस्तो क्षेत्र हो कि बढ्दो बजारमा मात्र होइन घट्दो बजारमा पनि लगानीकर्ताले मुनाफा कमाउन सक्ने जानकारहरु बताउँछन् ।

नेपाली कांगेसको अर्थ मन्त्रीलाई विगतमा सेयरबजारले राम्रै रेस्पोन्स गर्ने गरेको लगानीकर्ता दुर्गा तिवारी बताउँछिन् ।

“राष्ट्रबैंकको गर्भनर र अर्थमन्त्रीको ट्यूनिङ नमिलेको विगत हेर्दा के हुन्छ भन्ने हो ”उनी भन्छिन्,“अर्थमन्त्री विष्णु पौडेल र गर्भनरको ट्यूनिङ मिलेको अनुभव लगानीकर्ताले गरेका थिए, त्यसैले पहिले कांग्रेस अर्थमन्त्री हुँदा पनि बजारले रुचाएको थियो त्यसैले अब पनि रुचाउँछ भन्नेमा आशावादी छौं ।”

अहिले बैंकको व्याजदर पनि घटेको,बैंकहरूले सेयर कर्जा दिनका लागि फोन गरेको, साथै बैंकहरूको सीडी रेसियो पनि ८६ मा झरेकाले बजार बढ्ने अवस्थामा रहेको तिवारी बताउँछिन् ।

कोरोनाकालमा उच्च अंकमा पुगेको सेयरबजार विगत डेढ वर्षदेखि वियरिस बनेको छ । बजार वियरिस ट्रेण्ड सुरु भएको छैन भन्ने विश्लेषकहरू पनि फेल खाएका छन् । विगत डेढ वर्षयता प्राविधिक विश्लेषणहरू पनि मिल्न सकेका छैनन् ।

यसको मुख्य कारण भनेको देशको अर्थतन्त्रका सुचकहरूमा देखिएको संकट रहेको जानकार बताउँछन् । अर्थतन्त्रमा सुधार नआएसम्म पुँजीबजारमा सुधार नआउने उनीहरूको तर्क छ ।