‘नेपाल साइबर आक्रमणको प्रयास हुने देशहरूमा अग्र स्थानमा पर्छ’


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल साइबर आक्रमणको प्रयास हुने देशहरूमा अग्र स्थानमा पर्ने बताए । सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकका बोल्दै सचिव अर्यालले साइबर सुरक्षासम्बन्धी नीति रहेपनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

अर्यालले साइबर सुरक्षा नीति अन्तिम चरणमा पुगेको र अब चाँडै नै मन्त्रीपरिषद्मा पठाउने तयारी रहेको बताएका हुन् । साइबर सेक्युरिटी सम्बन्धी विधेयकको एउटा पहिलो मस्यौदा दर्ता भइसकेको र वृहत छलफल गरेर छिटो क्याबिनेटबाट संसदमा लैजाने तयारी गरिरहेको अर्यालले बताए ।

उनले भने, ”हामीसँग नीति नभएका होइनन् तर कार्यान्वयन भइरहेका छैनन् । साइबर सुरक्षा नीति हामीले अघिल्लो क्याबिनेटमा लगेका थियौँ तर अनुमोदन नसकेपछि फर्किएर आएको छ । साइबर सुरक्षा सम्बन्धी विधेयकको पहिलो मस्यौदा प्राप्त गरेका छौँ, हामी यसलाई वृहत छलफल गरेर छिटो क्याबिनेट हुँदै संसदमा लैजाने तयारीमा छौँ ।”

बैठकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी उपनिर्देशक सफल श्रेष्ठले प्राविधिक विज्ञ कर्मचारीहरु प्रविधिको क्षेत्रमा सरकारी कोटामा ल्याउन नै कठिन अवस्था रहेको बताए ।

उनले भने, ”अहिले हाम्रो एउटै खालको सफ्टवेयर विभिन्न निकायहरुमा भएकाले छुट्टाछुट्टै सर्भरमा राख्ने भएकाले डुप्लीकेशन हुने गर्छ । हामीले अहिले कर्मचारीहरुमा समस्या देखिरहेका छौँ । प्राविधिक स्किल फुल कर्मचारीहरुलाई ल्याउन गाह्रो छ, अर्को कुरा टिकाउन पनि त्यत्तिकै गाह्रो छ । कर्मचारीको नीतिमा पनि हेर्न जरुरी छ ।”