सगरमाथा जलविद्युत्को आइपीओमा आजदेखि आवेदन खुला


काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर आइपीओ निष्काशन गरेको छ । कम्पनीले आइपिओमा आज चैत्र ८ गतेदेखि आवेदन निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन पाउने छन्।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने भएको छ ।