इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न


काठमाडौं । फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने उद्देश्यसहित आयोजना गरेको ‘क्लिक टू करिअर’ कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै क्लिक टु करियर सम्पन्न भएको घोषणा गरिएको हो ।

बजारमा देखिएको दक्ष आईटी जनशक्तिको खाँडललाई कम गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर  कार्यक्रम सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए ।

“हामीले सञ्चालन गरेको क्लिक टु करियर कार्यक्रम इन्फोडेभलपर्सका लागि मात्रै होइन्,” उनले भने, “दक्ष जनशक्ति उत्पादन गर्न इन्फोडेभलपर्सले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ, त्यो समग्र सूचना प्रविधि बजारका लागि हो ।”

आईटी क्षेत्रमा आउन चाहनेलाइ आईटी उद्योगको लागि आवश्यक पर्ने सिप, प्रशिक्षण, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्न इन्फोडेभलपर्सले क्लिक टु करियर कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपालमा पढाइ हुने आईटी शिक्षा विश्वस्तरीय भएको बताउँदै रघुवंशीले दक्ष जनशक्तिको कमी हुनुमा यहाँको संस्कार प्रमुख कारण भएको विचार व्यक्त गरे ।

असोजदेखि सुरू भएको क्लिक टु करियरमा करिब १५० जना सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिइएको थियो  । सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनी/इन्टर्नसीपको रूपमा अवसर पाएका छन् ।

सूचना प्रविधि उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य राखि क्लिक टु करियर सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीओओ तथा कार्यक्रमका संयोजक डा. राजिव सुब्बाले बताए ।

“उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति बजारमा पाउन निकै मुस्किल छ,” सुब्बाले भने, “त्यसकारण आवश्यक परेको बेला दक्ष जनशक्तिको अभाव नहोस् र विद्यार्थीहरूलाई पनि रोजगारी पाउन समस्या नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।”  

रोजगारीको अवसर पनि दिने गरी सञ्चालन कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा, एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेश एनालिस्ट र फ्ल्टर लगायत तालिम प्रदान गरिएको थियो ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रा.लि. नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न प्रडक्ट  र परियोजनामा काम गरिरहेको कम्पनी हो । कम्पनीमा हाल ३५० बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।