९ नाकाबाट शून्य निर्यात


काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा ९ नाकाबाट नेपालको निर्यात शून्य रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको आयात निर्यातको तथ्यांक अनुसार आठ नाकाबाट शून्य निर्यात रहेको जनाएको छ । भन्सार विभागका अनुसार सामान आयात निर्यात गर्ने २७ ओटा नाका रहेका छन् । जसमध्ये ९ नाकाबाट निर्यात हुन सकेको छैन । भद्रपुर, जनकपुर, महेशपाउर, राजविराज, सिराहा, सुनसरी, तातोपानी, ठाडी र त्रिवेनी नाकाबाट निर्यात हुन सकेको छैन ।

नेपालले सबैभन्दा धेरै निर्यात विराटनगर नाकाबाट हुने गरेको छ । विराटनगर नाकाबाट नेपालले कुल निर्यातको २६.९९ प्रतिशत निर्यात हिस्सा रहेको छ भने विरगञ्ज नाकाबाट २४.६१ प्रतिशत निर्यात निर्यात हिस्सा रहेको छ । नेपालले कुल निर्यातको १३.८५ प्रतिशत मेची नाकाबाट निर्यात गरेको छ ।

नेपालले आयात भने सबै नाकाबाट गरेको भन्सार विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै आयात विरगञ्ज नाकाबाट गरेको छ । विरगञ्ज नाकाबाट कुल आयातको ३६.९५ प्रतिशत हिस्सा रहेको छ । भैरहवा नाकाबाट १४.४० प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०.१८ प्रतिशत आयात हिस्सा रहेको जनाएको छ । गौतम बुद्ध विमानस्थलमार्फत पनि २ करोड ६९ लाख रुपैयाँ बराबरको आयात गरेको जनाएको छ ।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा १९.१३ प्रतिशतले आयात घटेको छ भने निर्यात २९.७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैँया बराबरको आयात भएको छ । गत आर्थिक वर्षमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैँया बराबरको आयात भएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा निर्यात १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबर वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार पनि गत आर्थिक वर्षको अवधिको तुलनामा २०.१४ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।