फुट्दै पाम,भटमास र सूर्यमुखी तेलको पानीफोका


काठमाडौं । आर्थिक वर्ष २०७५/७६ पछि अचानक प्रमुख निर्यातजन्य वस्तुका रुपमा उदाएको पाम, भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको पानीफोका फुट्न थालेको छ ।

नेपाल र भारतबीचको कर अन्तर र भारतले नेपाललाई प्रदान गर्दै आएको भन्सार तथा कोटामुक्त बजार प्रवेशको फाइदा उठाउँदै विगत केही वर्षदेखि यी तेलहरू अर्धतयारी रुपमा नेपाल भित्र्याइ भारततर्फ निर्यात गरिँदै आएका थिए ।

भारतले पछिल्ला दिनमा यी तेलहरूको आयातमा गरेको कडाइसँगै नेपालको पाम, भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको पानीफोका फुट्न थालेको हो । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा पाम तेलको निर्यात ५६ प्रतिशतले, भटमास (सोयाबिन) तेलको निर्यात झन्डै ९० प्रतिशतले र सूर्यमुखी (सनफ्लावर) तेलको निर्यात ९३ प्रतिशले घटेको छ ।

यी तीन तेलले मात्र देशको कुल निर्यातको झन्डै एक चौथाइ हिस्सा ओगट्दै आएका थिए । पछिल्लो वर्ष नेपालको निर्यात २ खर्ब रुपैयाँ पुर्‍याउनमा यी तेलको प्रमुख हात छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ८ महिनामा १५ अर्ब ४३ करोड रूपैयाँको पाम तेल निर्यात भएको छ, गत वर्षको समान अवधिमा ३५ अर्ब ३३ करोड रूपैयाँको पाम तेल निर्यात भएको थियो ।

यस्तै चालू आवको पहिलो ८ महिनामा ८ अर्ब ३७ करोड रूपैयाँको भटमासको तेल निर्यात भएको छ, गत वर्ष यही अवधिमा ४१ अर्ब ४० करोड रूपैयाँको भटमासको तेल निर्यात भएको थियो भने केबल २४ करोड ८० लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ, जुन गत वर्षको पहिलो ८ महिनामा ३ अर्ब ६१ करोड ८९ लाख रुपैयाँको सूर्यमुखी तेलको निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ देखि अर्धतयारी पाम आयल नेपाल ल्याइ यहाँ सीमित प्रशोधन गरी भारत निर्यात गर्न थालिएको हो । पहिलो वर्ष नेपालबाट १० अर्ब ३३ करोड रूपैयाँबराबरको पाम आयल निर्यात गरेको थियो, जसले कुल निर्यातको १०.६४ प्रतिशत हिस्सा ओगटेको थियो ।

भारतले पाम आयलको प्रत्यक्ष आयातमा बन्देज लगाएसँगै इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्यान्डबाट कच्चा पाम आयात गरि यहाँका पूर्व भेजिटेबल घिउतेल उद्योगीहरूले भारत निर्यात थालेका थिए ।

यस्तै, क्यानडा, चीन, तान्जानिया, भारत, इथियोपिया, मोजाम्बिकलगायतका देशबाट भटमास, चीन, भारत, भेनेजुएला लगायतका देशबाट सूर्यमुखी आयात गरि त्यसको तेल भारत निर्यात गर्दै आएका छन् ।

भारतले पाम, भटमास र सूर्यमुखी तेलको आयातमा विभिन्न तरिकाले बन्देज वा करका दर बढाउने, कोटा लगाउने निर्णय गरेसँगै नेपालबाट हुने निर्यात संकुचित भएको हो । निर्यात नै घटेपछि तिनको कच्चा पदार्थको आयात पनि घटेको छ ।

भन्सार विभागका अनुसार पहिलो ८ महिनामा कच्चा पाम तेल (क्रुड पाम आयल)को आयात ३४ प्रतिशतले, कच्चा भटमास तेल (क्रुड सोयबिन आयल)को आयात ३६ प्रतिशतले र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल)को आयात २९ प्रतिशतले घटेको छ ।

यी प्रमुख तेलको निर्यात घट्दा यो वर्ष कुल निर्यात पनि २९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब रुपैयाँकोमात्र वस्तु निर्यात भएको छ, जबकी गत वर्षको यही अवधिमा १ खर्ब ४७ अर्बको वस्तु निर्यात भएको थियो ।

भारतले पाम, भटमास र सूर्यमुखी तेलको निर्यातले वर्षामासमा फुलाएको पानीफोका यी वस्तुको निर्यातमा देखिएको संकुचनसँगै फुट्ने संकेत देखिएको छ।