‘निजी क्षेत्रलाई गतिशिल बनाउन राज्य लाग्नुपर्छ’


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेकोले यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए।

लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित “लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक” कार्यक्रममा उनले भने, “पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भन्दा धेरै ५ र सरकारको योगदान न्यून मात्र छ। त्यसले देशको पूँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ ।”

सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए।

“अहिले तीनै तहका सरकारहरुसँग ३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ,” उनले भने।

अर्थतन्त्रलाई कसले गति दिने भन्ने महत्वपूर्ण विषय भएको भन्दै पूर्व कार्यकारी निर्देशक थापाले सरकारले नै पहल गर्नुपर्ने बताए । उनले देशभित्र उद्योग व्यवसाय दर्ता र संचालनको लागि सहज व्यवस्था गरिनुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताएका छन्। उनले विश्वमा ठूला आर्थिक मन्दिबाट सबै देशहरुले सिकेपनि हामीले कहिलेपनि सिक्न र सुधार गर्न नसकेको बताए। उनले यसको लागि संस्थागत अभ्यासमा सुधार गर्नुपर्ने र यथार्थवादको अन्त्य गर्नुपर्ने बताए।

“विश्वका सबै देशहरुले आर्थिक मन्दी र चुनौतीबाट पाठ सिकेर नयाँ नीति र व्यवस्था गर्ने गरेको भएपनि हामीले कहिले सिक्न चाहेनौं,” सांसद झाले भने, “हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चित हुनुपर्दछ।”

उनले उद्योग व्यवसायलाई गाउँगाउँमा पुर्याउनुपर्ने भन्दै औद्योगिक क्षेत्रमा पनि संघियतालाई कार्यान्वयन गर्न अनुरोध गरे।