भित्री कारोबारको ठहर गर्दै ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने धितोपत्र बोर्डको निर्णय


काठमाडौं । उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलाई नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको छ ।

बोर्डको चैत १९ गते आइतबार बसेको संचालक समितिको बैठकले सेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर गर्दै नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन कार्यकारी अध्यक्ष प्रधानलाई कारवाही गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रधानलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना सहित आगामी १० वर्षका लागि कुनै पब्लिक कम्पनीमा सञ्चालक बन्न नपाउने गरी कारबाही छ ।

बोर्डको विभागीय अध्ययनमा प्रधानले अनाधिकृत रुपमा सेयर कारोबार गरेको पुष्टि हुने आधार देखिएपछि २४ मंसिरमा प्रधानलाई गैरकानुनी रुपमा सेयर कारोबार गरेको आरोपमा अनुसन्धान गर्ने तहकिकात अधिकृत नियुक्त गरेको थियो । अध्ययन अनुसार प्रधानले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको पाइएको छ।

प्रधानले आफू पदमा रहँदा धितोपत्र ऐनविपरीत नेपाल हाइड्रोमा आफ्नो नाममा रहेको सेयर परिवारको नाममा हस्तान्तरण गरेको खुलेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेठले बताए ।

यसअघि सेबोनले इन्साइडर ट्रेडिङमा यस्तै प्रकृतिको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको थियो। रिडी पावरका तत्कालीन अध्यक्ष न्यौपानेलाई बोर्डले ७५ हजार जरिवाना र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक र व्यवस्थापक बन्न रोक लगाएको छ । चैत ८ गते बोर्डले इन्साइडर ट्रेडिङको आरोपमा अदालतमा मुदा दायर गरेको छ ।