विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय: मेयर बालेन


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले आफैँ किताब बेच्ने र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको बताएका छन्।

विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको बताउदैँ मेयर शाहले विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन अनुरोध गरेका छन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक/पटक आइरहेको छ,’ मेयर शाहले आज फेसबुकमा लेखेका छन्, ‘यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए।

विद्यालयहरूले आफैँ किताब बेच्ने र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराए कारवाही गर्ने महानगरको जनाएको छ ।