‘निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन’


काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताए ।

साेमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन् ।

उनले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने बताउँदै वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गरे । उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने बताएका छन् ।

उनले  सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताउँदै सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको बताएका छन् । महतले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताए ।

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गरेकाे बताए ।

उनले भने, ‘पछिल्लो समय बैंकको व्याजदर बढेको छ । पहिला ऋण लिएकाको व्याजदर माथि जाँदा रेट अफ रिटर्नमा समस्या । ऋण फिर्ता गर्न समस्या आएको छ । यो विषय सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको छ । यस विषयमा राष्ट्र बैंकसँग कुरा गरेका छौँ । राजश्वको स्थिति नकारात्मक छ । चाहेजस्तो उठेको छैन । लक्ष्यभन्दा कम छ । भन्सारमा गत वर्ष भन्दा २८ प्रतिशतले कम भएको छ । आन्तरिक करमा पनि समस्या देखिएको छ । राजश्वको स्थिति चिन्ताजनक छ ।’

अर्थमन्त्री महतले आगामी बजेटमा निजी क्षेत्रको सल्लाह सुझाव अनुसार काम गर्ने बताएका छन् ।