कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, “म अर्थमन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीतिक नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौं ।”

मन्त्री डा। महतले भने, “अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घटनुमा विभिन्न कारण छन् । हामी आफै कति कारक छौं, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाटै चुहावट आएको छ, यो गम्भीर कुरा हो ।”

“भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ । विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाउँछ । भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ, उनले भने, “भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेको छ । त्यहाँको प्रमुखलाई भनिसकेको छु, उहाँ आउनु हुन्छ र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

“महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो रु त्यसको ब्रेकडाउन मलाई चाहियो”, मन्त्री डा। महतले भने, “त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको छ । त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ । यसलाई तपाईंहरुले गम्भीर रुपमा लिनु होला । मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला ।”

डा। महतले राजस्व घट्नुमा सम्पूर्ण कर्मचारीको दोष मात्र नभइ धेरै कारणले राजस्व घटेको बताएका छन् । राजस्व घट्नुमा कर्मचारीको हिस्सा कति छ त्यसको जिम्मेवारी कर्मचारीले लिनुपनेर् उनले बताए । उनले सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा भन्सार चुहावट रोक्नुपर्ने र अन्य कारणबाट भन्सार चुहावट भएको छ भने त्यसको जानकारी हामीले पाउनुपर्ने उल्लेख गरे ।

“मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको, राजस्व घटेको छ । कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छ । राज्यको आयले साधारण खर्च धन्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ । यो समस्या समाधानका लागि हाम्रोतर्फ कुनै कसर बाँकी राखिँदैन । उद्योग व्यवसायीलाई दिइने झन्झटप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौं” डा. महतले भने ।