वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा आज बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताए । उनले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे ।

ढकालले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।