‘देशभर ५१ जना सहकारीकर्मीले आत्मदाहको प्रयास गरे’


काठमाडौँ । पछिल्लाे समय देशभर ५१ जना सहकारीकर्मीले आत्मदाहको प्रयास गरेको काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले बताए ।

मंगलबार काठमाडौँ महनगरपालिका सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको काठमाडौँ महनगरपालिकाको कार्यक्षेत्र पर्ने सहकारी संस्थाहरूको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्रसमेत प्रभावित पर्दा सहकारीकर्मीहरू निरुत्साहित हुनुका साथै आत्मदाहकाे समेत प्रयास गरेका बताएका छन् ।

उनले ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाउँदा सहकारीकर्मीहरूले मनभरि पिडा लिएर मनाएको बताएका छन् । उनले भने, “यो बेला सबै एकै ठाउँमा बसेर सहकारी संस्थाहरू जोगाउन लाग्नु पर्ने हो तर विभिन्र ठूला भनिएका सहकारीकर्मी साथीहरूले आफूलाई मनमा आएको कुरा मिडियमा बाेल्दा समाजमा नकारात्मक सन्देश गएको छ । त्यसकारण पनि सहकारीहरू समस्यामा परेका छन् ।’’

अध्यक्ष थापाले सरकारले सहकारीको अनुगमन गर्न सक्दैन भने अबदेखि सहकारी दर्ता गर्न अनुमति नदिन अनुरोध गरेका छन् । “संघीयतापछि सहकारी दर्ता गर्न अनुमति स्थानीय तहले समेत पाएको छ । त्यसकारण स्थानीय तहमा सहकारीहरू अन्धधुन्दा तरिकाले दर्ता गरिदैँ छ । यो कार्यलाई रोक्नपर्छ र सहकारीहरू मर्जर गर्ने तर्फ जाँदा सहकारी नियमन गर्न सहज हुने छ । थापाले भने ।’’