‘९० प्रतिशत सहकारी मूल्य र मान्यता विपरित सञ्चालन भए’


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा संचालन भएका ९० प्रतिशत सहकारी मूल्य र मान्यता विपरित सञ्चालन भएको काठमाडौँ महानगरपालिका सहकारी विभागकी उप निर्देशक विमला कोइरालाले बताइन् ।

मंगलबार काठमाडौँ महनगरपालिका सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको काठमाडौँ महनगरपालिकाको कार्यक्षेत्र पर्ने सहकारी संस्थाहरूको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् । कोइरालाले अधिकाशं सहकारीहरू ऐन विपरित चलेको र नियमित अद्यावधिक हुन आउन समेत आनकानी गर्दै आएको बताएकी छन् ।

उनले भनिन्, “संस्थाहरू विभागको निर्देशन र प्रचलित कानुन पालना गर्न अटेर गर्ने प्रवृति बढ्दो छ भने सहकारीहरू पूर्णत समुदायमा आधारित नभई, देखासिखी र टाठाबाठाको हालीमुहाली भएको छ । त्यसैले हामीले बेलाबेलामा नियमन गरेर त्यस्ता सहकारीलाई कारबाहीको दायारमा ल्याएका छौँ ।’’

त्यस्तै कोइरालाले आफूखुसी अध्यक्ष, सञ्चालक समितिले मात्रै ऋण लगानी गर्ने, ऋण लगानी गर्दा बिना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्दा पछिल्लो समय सहकारीमा समस्या आएको बताएकी छन् ।

उनले संस्थाहरू कोपोमिसको दायारमा आउँदा सहकारीहरू समस्याबाट थोरै भएपनि मुक्त हुने कुरामा जोड दिएकी छन् । उनले भनिन्, “विद्युतीय प्रणाली मार्फत नियमित नियमन तथा अनुगमन गर्न संघीय सहकारी विभागको समन्वयमा कोपोमिसलाई प्रभावकारी रुपले अद्यावधिक गराई स्थानीय तथ्यांक प्रणालीसँग आवद्ध गर्न पहल गर्नुपर्छ ।’’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको जिम्मेवारी एउटै संघीय निकायबाट हुुनुपर्नेमा कोइरालाको भनाइ छ । उनले सहकारी संचालक समितिका पदाधिकारीहरूलाई नियमित तालिमको व्यवस्था गर्न र संस्थाहरूलाई उत्पादन र रोजगारीसँग जोड्न प्रोत्साहन तालिम कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताएकी छन् ।