बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री


काठमाडाैँ । मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताए । उनले बैंककाे ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताए ।

सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने र सरकारले पछिल्लो समय अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि उल्लेख गरे ।

सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए । प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए ।  झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको दाबी गरे ।

 प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको भएकाे भन्दै आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए ।