निक्षेपको व्याजदर घटेसँगै नेप्सेमा ९२ अंकको उछाल


काठमाडौं । लामो समयदेखि थलिएको सेयरबजारमा आज एकाएक उछाल आएको छ । बुधबार नेप्से परिसूचकमा ९२.२२ अंकले बढ्दा नेप्सेमा झण्डै सर्किट लागेको थियो । समग्र नेप्से परिसूचक ४.९३ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंक तथा विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ प्रतिशतमा झारेका छन् भने विकास बैंकहरुले पनि साबिकको ब्याजदरमा १ प्रतिशत विन्दूले घटाउने निर्णय गरेका छन् ।

बैंकहरुले निक्षेपको व्याजदर घटाउने निर्णयले लगानीकर्ताको मनोबल बढ्दा सेयरबजारमा लामो समयपछि हरियाली छाएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

उनले भने, ‘व्याजदर घट्ने एउटा कुरा भयो अर्को कुरा गर्भनरले अर्थतन्त्रमा सुधार देखिएको भन्दै ग्रिन सिग्नल दिँदा मनोबल उच्च बनेको छ । पछिल्लो समय अर्थमन्त्री र गर्भनरबिचको सम्बन्ध सौहार्दपूर्ण हुने आशाले बजार बाउन्स व्याक भएको हो ।’
लामो समयको अन्तरालपछि निक्षेपको व्याजदर सिंगल डिजिटमा झर्नु नै बजार बाउन्स व्याक हुनुको प्रमुख आधार भएको लगानीकर्ताको भनाई छ ।

बुधबार नेप्से परिसूचक ९२.९९ अंकले बढेर १९६३.५५ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १८.२५ अंकले बढेर ३७३.७१ अंकमा पुगेको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक करिव ७ प्रशित बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधबार कारोबार रकमको आधारमा शिवम सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इक्विटी फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्त लगायत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

बुधवार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।