विमान चार्टर गरेर १८० चिनियाँ पर्यटक नेपालमा


काठमाडौँ । कोभिड–१९ को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट एक सय ८० जना चीनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चीनियाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले स्वागत गरेका थिए ।

चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चीनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

यस्तै मन्त्री र राजदूच सोङबिच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका थिए ।

राजदूतसोङले नेपाल चीनियाँ पर्यटकहरूको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीनसधैँ सकारात्मक भएको बताए । उनले कोभिडपछि चीनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चीनियाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चीनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष आग्रह समेत गरेका थिए ।

बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चीनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरू मार्फत् थप सात सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ महामारीसँग सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ जना, २०२० मा १९ हजार २ सय ५७, २०२१ मा ६हजार १ सय ९६, २०२२ मा ५ हजार ५ सय९५ र २०२३ को मार्च सम्म ६ हजार ३ सय ३७ जना चीनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।