कर्मचारीको पेन्सनमै जान्छ ६३ अर्ब रुपैयाँ


काठमाडौं। सरकारी कर्मचारीको पेन्सनमै ६३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । यिनमा सेना, प्रहरी र शिक्षक पनि पर्छन् ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयका अनुसार अवकाश प्राप्त कर्मचारीको पेन्सनको लागि मात्रै ६२ अर्ब ९८ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा ६५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन मध्ये ६२ अर्ब ९८ करोड ४ लाख रुपैयाँ निवृत्तीभरणबवापत खर्च भएको हो भने ह्याण्डलिङ चार्ज (सेवा शुल्क) ६ करोड ४६ लाख खर्च भएको हो । सरकारले आर्थिक वर्ष २०७८/७९ मा २ लाख ८३ हजार १७५ जनाको लागि सरकारले करिब ६३ अर्ब रुपैयाँ खर्च गरेको हो ।

सरकारमाथि यो दायित्व हरेक वर्ष थपिँदै गएको छ । बहालवाला कर्मचारीको तलबभत्ता वृद्धि हुँदा सेवा निवृत्त कर्मचारीलाई दिनुपर्ने पेन्सन रकम पनि बढ्ने गर्छ । सरकारले आर्थिक वर्ष २०७४/७५ मा पेन्सन वापत ४० अर्ब १४ करोड ९० लाख रुपैयाँ खर्च गरेको थियो भने २०७५/७६ मा ४४ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

२०७६/७७ मा ५३ अर्ब ५४ करोड ३० लाख रुपैयाँ खर्च गरेको थियो भने २०७७/७८ मा ५५ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ खर्च गरेको निवृतीभरण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७९ चैत ३० गतेसम्म अवकाश पाएर पेन्सन खाने कर्मचारीको संख्या ३ लाख १ हजार ८३६ जना छ जसमध्ये ८४ हजार ८८१ महिला छन् भने पुरुषको संख्या २ लाख १६ हजार ९५५ रहेको छ ।

कार्यालयका अनुसार निवृतीभरण लिने अवकाश प्राप्त धेरै पाली सेनाका रहेका छन् । अवकाश प्राप्त पेन्सन लिने नेपाली सेनाको संख्या ९९ हजार ५३४ रहेको छ ।

यस्तै, निजामतितर्फ ८४ हजार ३१०, प्रहरी र अनुसन्धान ६० हजार ९७३ र शिक्षक ५७ हजार १९ रहेका छन् । निवृतीभरण कार्यलयका अनुसार पेन्सन खाने अवकाश प्राप्त कर्मचारीको संख्या आर्थिक वर्ष २०७४/७५ मा २ लाख १८ हजार ५०० रहेको थियो भने २०७५/७६ मा २ लाख ३१ हजार ३११ रहेको थियो ।

यस्तै, २०७६/७७ मा २ लाख ५१ हजार ९३६ रहेका थिए भने २०७७/७८ मा २ लाख ६८ हजार ५ रहेका थिए । २०७८/७९ को असारसम्म २ लाख ८३ हजार १७५ जना रहेकोमा २०७९ चैत ३० गते ३ लाख १ हजार ८३६ पुगेका हुन् ।