पद बहालीसँगै अध्यक्ष ढकालका ५ प्रतिबद्धता


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली गरेका छन् । काठमाडौँको टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली गरेका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष बनेका हुन् । ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ढकालले गत बिहीवार नै पद तथा गोपनियताको शपथ लिए पनि आईतवार मात्रै अध्यक्षको पदबहाली गरेका हुन् । अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताए ।

उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए ।

अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने उल्लेख गरे ।

उनले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष ढकालका प्रतिबद्धता

अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने उल्लेख गरे ।

उनले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरू सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारी ग¥यो भने मात्रै व्यावसायिक गतिविधि बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता जनाए । उनले भने,“मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ ।

अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिँदैन तबसम्म व्यवसायिक गतिविधिहरु बढ्न सक्दैनन् ।”

अध्यक्ष ढकालले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए । पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने उनको भनाई थियो ।

अध्यक्ष ढकालले भने,“निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण छ । त्यो दृष्टिकोण परिवर्तन गर्नेछु । मैले पहिलो दिन उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिदैँगर्दा के लागेको छ भन्दा म एउटा गाउँबाट आएको सानो व्यवसायी,व्यवसाय नै नभएको शुन्य व्यवसाय भएको व्यक्ति पनि नेपालभरका व्यवसायीहरुको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ ।”

महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाए । अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने निवर्तमान अध्यक्ष गोल्छाको भनाई थियो ।