लघुवित्तहरूले ऋणीहरूलाई लगाउने ब्याज १ अंकमा झार्न माग


काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) लघुवित्तहरूले ऋणीहरूलाई लगाउने ब्याज १ अंकमा झार्न माग गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै लघुवित्तहरूले ऋणीहरूलाई लगाउने ब्याज १ अंकमा झार्न माग गरेको हो ।

लघुवित्तहरूको चरम शोषण र अमानवीय व्यवहारका विरुद्ध ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपाल’को नेतृत्वमा पीडितले संचालन गरेको संघर्षमा महासंघको ऐक्यबद्धता रहेको भन्दै नेपाल सरकारसँग विभिन्न माग राखेको हो ।

देशका गरिब किसान, आम जनता र त्यसमा पनि विशेष गरी महिलाहरूमाथि विगत ३० वर्षदेखि शोषण, उत्पीडन र अत्याचारसहित संस्थागत सुद्खोरी र मीटरव्याजको धन्दा चलाउने देशभरका लघुवित्तहरूका गैरकानुनी तथा अमानवीय हर्कतलाई महासंघले नियालिरहेको भन्दै लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने गरी चलाएको संस्थागत सुद्खोरी र मीटरब्याजको धन्दा बन्द माग गरेको छ । यसरी हर्जाना असुल्ने लघुवित्तहरूलाई कारबाही गर्नुपर्ने जनाएको छ ।

महासंघले विभिन्न माग राख्दै जारी गरेको विज्ञप्तीमा लघुवित्तहरूमा एउटै व्यक्ति २ भन्दा बढी लघुवित्तमा सदस्य बन्न र ऋण लिन नपाउने व्यवस्था गरी कडाइका साथ लागु गर्नुपर्ने उल्लेख गरिएको छ ।

लघुवित्तहरूले चक्रीय व्याज प्रणालीमा लिइरहेको कोरोनाकालदेखि हालसम्मकोे सम्पूर्ण ब्याज र हर्जाना विनाशर्त मिनाहा गर्दै बाँकी ऋण भुक्तानीका लागि ऋणीको माग र क्षमताअनुसार पर्याप्त समयावधि दिई ऋणको पुर्नतालिकीकरण (नयाँ किस्ता जारी) गर्न आग्रह गरेको छ ।

वार्ता र छानबिनलाई द्रुत गतिमा अघि बढाई निष्कर्षमा पु¥याएर पीडितहरूलाई न्याय प्रदान गर्न र सो पक्रिया टुंगोमा नपुगुञ्जेल लघुवित्त पीडितहरूको कानुनी, भौतिक र सांस्कृतिकरूपमा जीवन रक्षा गर्न महासंघले माग गरेको छ ।