४० देखि ८० प्रतिशत मागमा संकुचन आएको छ: अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।

काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन आज गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए ।

उनले पछिल्लो समय उद्योगी व्यावसायीहरू कठिन अवस्थामा गुज्रिएको बताए । अध्यक्ष अग्रवालले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए ।

पछिल्लो समय कागजी रुपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहजरुपमा कर्जा पाउन नसकेको उनको भनाई थियो । अध्यक्ष अग्रवालले व्यावसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकिरहेको उल्लेख गरे ।

उनले भने,“अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यावसायीहरूले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ ।”

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । सरकारले उद्योगी व्यावसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको उल्लेख गरे । सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको अध्यक्ष अग्रवालको भनाई थियो ।