नेपाल डेरी एसोसिएसनको केन्द्रीय विस्तारित बैठक सम्पन्न, यी हुन् निर्णयहरू


काठमाडौँ । नेपाल डेरी एसोसिएसनको केन्द्रीय विस्तारित बैठकले विभिन्न निर्णय गरेको छ । सर्लाहीको हरिवनमा वैशाख ११ र १२ गते बसेको विस्तारित बैठकले दुग्ध क्षेत्रका विभिन्न विषयमा निर्णय गरेको हो ।

बैठकले अहिले दुध अभावका कारण धुलो दुध र झोल दुध आयात गर्न तत्काल पहल गर्ने र फ्रेस मिल्कमा लगाईएको अन्त शुल्क हटाउन पहल गर्ने निर्णय गरेको छ ।

यस्तै हालै दुधको मुल्य वृद्धिपश्चात छुर्पिको पनि मूल्य वृद्धि भई बजारमा बिक्री नभएको भन्दै एसोसिएसनले समस्या समाधानका लागि पहल गर्ने,प्रदेश र जिल्ला समितिहरूलाई सक्रिय गराई हरेक क्रियाकलाप अगाडि बढाउने निर्णय समेत गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

उनले दुग्ध सङ्कलन गर्ने केन्द्रमा दिइदैं आएको विद्युत महसुलमा छुट नहटाई निरन्तर दिइनुपर्ने,नेपाल डेरी एसोसिएसनलाई महासंघमा लैजाने विषयमा समेत छलफल गरिएको बताए । गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने निर्णयको स्वागत गर्दै अन्य प्रदेशमा यसका लागि पहल गर्ने बैठकले निर्णय गरेको अध्यक्ष दाहालले जानकारी दिए ।

बैठकका क्रममा बिगतमा भएका बैठकका निर्णयहरूको समीक्षा,आय व्ययको फरस्यौट, दूधको मूल्य वृद्धि पश्चात् परेको असरको समीक्षा,अब मुल्य तोक्दा प्रदेश अनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालको भनाई थियो ।

प्रदेश र जिल्लाका पदाधिकारीलाई प्रशिक्षण

एसोसिएसनले बैठकका क्रममा प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरूलाई प्रशिक्षण समेत दिएको छ । बैठकमा केन्द्रीय अध्यक्ष दाहाल र महासचिव हेमचन्द्र खनालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिवहरू एवं जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको केन्द्रीय महासचिव खनालले जानकारी दिए ।