यात्रामा पढ्न प्रधानमन्त्री शाहलाई वाग्लेले दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’


काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यात्रामा अध्ययन गर्न पुस्तक उपहार दिएका छन्।

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्नुअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा कार्यवाहक प्रधानमन्त्री वाग्लेले पल केनेडी लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरेका हुन्।

विश्वका ठूला शक्तिहरूको उदय, विकास र पतनको ऐतिहासिक अध्ययन समेटिएको उक्त पुस्तक वाग्लेले प्रधानमन्त्री शाहलाई यात्राका क्रममा अध्ययनका लागि दिएका हुन्।

पुस्तक हस्तान्तरणसँगै वाग्लेले प्रधानमन्त्री शाहलाई अमेरिका यात्राका लागि बिदाइसमेत गरेका थिए।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभारसमेत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हालेका छन्।

पल केनेडी लिखित ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ विश्वका ठूला शक्ति राष्ट्रहरूको उदय र पतनको ऐतिहासिक अध्ययनमा आधारित चर्चित पुस्तक हो। सन् १९८७ मा प्रकाशित यस पुस्तकले करिब पाँच सय वर्षको विश्व इतिहासलाई समेट्दै विभिन्न राष्ट्र कसरी शक्तिशाली बने र समयक्रममा कसरी कमजोर भए भन्ने विषयको विश्लेषण गर्छ।

पुस्तकको मुख्य विषय आर्थिक शक्ति र सैन्य शक्तिबीचको सम्बन्ध हो। केनेडीले कुनै राष्ट्रको दीर्घकालीन शक्ति उसको आर्थिक स्रोत, उत्पादन क्षमता र वित्तीय अवस्थासँग गहिरो रूपमा जोडिएको तर्क प्रस्तुत गरेका छन्। आर्थिक क्षमताभन्दा बढी सैन्य तथा रणनीतिक विस्तार गर्दा त्यसले राष्ट्रको आर्थिक आधारमा दबाब सिर्जना गर्न सक्ने विषयलाई पनि पुस्तकले विश्लेषण गर्छ।

स्पेन, फ्रान्स, बेलायत, जर्मनीलगायतका प्रमुख शक्तिहरूको इतिहासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पुस्तकले विश्व शक्तिको सन्तुलन कसरी परिवर्तन हुँदै आएको छ भन्ने देखाउँछ। त्यसैले यो पुस्तक इतिहासको अध्ययन मात्र नभई अर्थतन्त्र, सैन्य शक्ति, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व राजनीतिबीचको सम्बन्ध बुझ्न उपयोगी मानिन्छ।