५ सय र हजार रुपैयाँका नोट छपाई रोक्न सांसद देवकोटाको सुझाव


काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभामा आज वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताए ।

उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्युनिकरणमा सहयोग पुग्ने दाबी गरे । बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र विचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी देवकोटाको थियो ।

उनले भने,“सरकारले दुई चारवटा काम मात्रै गरिदिए पुग्छ । यसले अर्थतन्त्रमा केही राहत पनि पुग्छ । बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ । मेरो अनुरोध छ । रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् । बजारबाट सबै नोट खिचियोस् । यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।”

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको देवकोटाको भनाई थियो ।

उनले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजश्व संकलन अनुपात भारीमात्रामा घटेको, उद्योगी व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए ।

आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार वहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको देवकोटाको भनाई छ ।