अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनकाे आन्दोलन


काठमाडौँ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गरेका छन् ।

शुक्रवारदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै पुनले अनिश्चित कालका लागि आन्दोलन शुरु गरेका हुन् ।

सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूका लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए ।

नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उनको भनाई थियो ।

पुनले नयाँ विषयहरूको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताए ।

उनले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए । नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको उनको गुनासो थियो ।

सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरूलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको उनको भनाई थियो । उनले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाए ।

पुनले भने,“नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं ।

यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो ।” नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गरिएन भने मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने पुनको तर्क छ ।

उनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गरे ।

स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कानून बनाउन,नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवद्र्र्धन समिति बनाउन र व्यवहारिक अनुसन्धान लाई प्रवद्र्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न उनले माग गरे ।

पुनले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गरेका छन् ।