अर्थतन्त्रमा मन्दी देखिएको पुष्टि, दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ऋणात्मक


काठमाडौं । चालू आर्थिक वर्ष २०७९।८०मा आर्थिक मन्दी देखिएको सरकारको औपचारिक तथ्यांकीय निकायले पुष्टि गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालय रातकाले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको गणनाले आधिकारिक रुपमा नै आर्थिक गतिविधि सुस्त भएको प्रमाणित गरेको हो ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा र गिटी, ढुंगा, बालुवा उत्खननमा लगाइएको रोक लगायतका कारणले निर्माण गतिविधि ठप्प हुँदा त्यसले मन्दीलाई हाँकेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अर्थतन्त्रका २१ क्षेत्रमध्ये निर्माण क्षेत्रको वृद्धिदर २०.६ प्रतिशतले ऋणात्मक रहेको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको कार्यालयले बताएको छ ।

दोस्रो ऋणात्मक वृद्धिको असर परेको क्षेत्र खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर १६.४ प्रतिशतले ऋणात्मक भएको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको अनुमानमा उल्लेख छ । निर्माण र खानी तथा उत्खनन् एकअर्कासँग अन्तर-सम्बन्धित छन् ।

आर्थिक गतिविधिहरू शिथिल हुँदा व्यापार र ‌औद्योगिक उत्पादनमा क्रमश: ९.७, र ४.३ प्रतिशतले ऋणात्मक भएका छन् ।यसैगरी यातायात क्षेत्र पनि ५.५ प्रतिशतले ऋणात्मक भएको छ ।

अर्थतन्त्रलाई मुख्य गति दिने यी क्षेत्रहरूको वृद्धिदर नै ऋणात्मक भएपछि समग्र आर्थिक वृद्धिदर पनि ऋणात्मक भएको छ । कार्यालयका अनुसार मौसमी प्रभाव असमायोजित त्रैमासिक आर्थिक वृद्धिदर  अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा १.१ प्रतिशतले कम छ भने मौसमी प्रभाव समायोजित त्रैमासिक आर्थिक वृद्धिदर चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले कम छ ।

पहिलो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर १.१ प्रतिशत थियो भने दोस्रो त्रैमासिकमा १ प्रतिशतले नै ऋणात्मक भएका कारण चालू आर्थिक वर्षमा समग्र वृद्धिदर ४ प्रतिशतभन्दा कम रहने संकेत देखिएको छ ।

पर्यटकको आगमनमा भएको सुधारात्मक वृद्धिले सबैभन्दा बढी वृद्धिदर आवास र भोजन सेवामा २०.४ प्रतिशत रहेको र कृषि क्षेत्रमा पनि २.६ प्रतिशतको वृद्धिदर हासिल भए पनि द्वितीयक क्षेत्र औद्योगिक क्षेत्रमा भएको संकुचन र सेवा क्षेत्रमा मुख्य हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापारमा आएको संकुचनले वित्तीय तथा बिमा क्षेत्रको १४ प्रतिशतको वृद्धिलाई ओझेलमा पारेको छ ।