मधेस प्रदेशका मुख्यमन्त्रीको खल्तीबाटै पैसा चोरी,सुरक्षा व्यवस्थाप्रति गुनासो


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो खल्ती पैसा चोरी भएको गुनासो गरेका छन् ।

आईतवार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले केही दिन अघि आफ्नो खल्तीबाट पकेटमारले पैसा चोरेको गुनासो गरेका हुन् ।

उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि मुख्यमन्त्री यादव पनि विजय जुलुसमा सहभागि भएका थिए ।

जुलुसमै मुख्यमन्त्री यादवको पैसा चोरी भएको हो ।

उनले भने,“मेरी घरको नजिक २ किलोमिटर उपेन्द्र यादव जीको विजय जुलुसमा सहभागि हुन त्यहाँ म गए, त्यस दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो, मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरी हुन्छ भने त्यहाँको सुरक्षा व्यवस्था कस्तो होला ?”

मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने उनको भनाई थियो ।

प्रदेश सरकारसँग समन्वय नभएसम्म कुनै आयोगले पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउनेगरी कार्य सम्पादन गर्न नसक्ने मुख्यमन्त्री यादवको भनाई थियो । उनले कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइर दोषीलाई कठघरामा उभ्याउने प्रतिवद्धता जनाए ।