स्काडा तथा डिजिटल सञ्चार सञ्जाल विस्तार आयोजनामा भेन्डर लक-इन भएको छैनः कार्यकारी निर्देशक श्रेष्ठ


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणको स्काडा प्रणाली तथा डिजिटल सञ्चार सञ्जाल विस्तारसम्बन्धी आयोजनामा कुनै एक कम्पनीलाई मात्र लक्षित गरी प्रविधि तथा उपकरण छनोट नगरिएको बताएका छन् । 

सार्वजनिक लेखा समितिको बैठकमा आयोजनासम्बन्धी उजुरीबारे आफ्नो धारणा राख्दै उनले टेण्डर प्रक्रिया एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा र एडीबीकै परामर्शदातामार्फत तयार गरिएको जानकारी दिए ।

उक्त आयोजनासम्बन्धी उजुरीमा मुख्यतः महँगो तथा पुरानो प्रविधिको छनोट, भेन्डर लक–इन तथा अन्तरआवद्धताको समस्या र लागत प्रभावकारिता तथा प्रविधि छनोटको औचित्यमाथि प्रश्न उठाइएको उनले बताए । 

श्रेष्ठले आयोजनाको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा पटक–पटक प्रि–बिड मिटिङ गरिएको र ती बैठकमा उठेका प्रश्न तथा सुझावलाई सम्बोधन गर्दै प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

प्राधिकरणमा समेत उजुरी प्राप्त भएपछि यसबारे आन्तरिक छलफल गर्नुका साथै एडीबीका परामर्शदातासँग पटक–पटक परामर्श गरिएको उनले बताए ।

उनकाअनुसार यो आयोजना प्राधिकरणको हालको सञ्चार तथा स्काडा सञ्जाललाई उच्च भोल्टेज सबस्टेसनबाट वितरण तह र शाखा कार्यालयसम्म विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो ।

यसले अप्टिकल फाइबरमा आधारित सञ्चार पूर्वाधारको विकास गरी इन्टरनेट सेवा प्रदायकलगायत अन्य सेवा प्रदायकका लागि समेत बलियो ब्याकबोन नेटवर्क तयार गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

यसबाट एउटै विद्युत पोलमा अव्यवस्थित रूपमा विस्तार भएका विभिन्न तारको जञ्जाल कम गर्न र सञ्चार पूर्वाधारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्राधिकरणले विकास गर्न लागेको डिजिटल पूर्वाधारलाई संस्थागत रूपमा विस्तार गर्ने योजनाअनुसार आयोजना अगाडि बढाइएको उजले बताए । 

महँगो तथा पुरानो प्रविधि छनोट गरिएको भन्ने आरोपबारे स्पष्ट पार्दै श्रेष्ठले प्राधिकरणले हाल प्रयोग गरिरहेको एसडीएच प्रविधिभन्दा एक चरण अगाडि बढेर ओटीएन प्रविधि छनोट गरिएको बताए ।

उनकाअनुसार ओटीएन प्रविधि हालको एसडीएच प्रणालीसँग अन्तरआवद्धता कायम गर्न सकिने र प्राधिकरणका प्राविधिक जनशक्तिका लागि पनि तुलनात्मक रूपमा सहज हुने भएकाले छनोट गरिएको हो । 

एकैपटक पूर्ण रूपमा नयाँ प्रविधिमा जाँदा विद्यमान संरचना उपयोग गर्न कठिन हुने तथा सञ्चालन र व्यवस्थापनमा समेत चुनौती आउन सक्ने भएकाले चरणबद्ध रूपमा प्रविधि स्तरोन्नति गर्नु उपयुक्त हुने सुझाव परामर्शदाताबाट प्राप्त भएको उनले जानकारी दिए ।

भेन्डर लक–इन अर्थात कुनै एउटा कम्पनीलाई मात्र अनुकूल हुने गरी स्पेसिफिकेसन तयार गरिएको भन्ने आरोप पनि उनले अस्वीकार गरे ।

उनकाअनुसार आयोजनामा नोकिया, जेडटीई, हुवावे, फाइबरहोम, सिस्को र टेजासलगायतका विभिन्न अन्तर्राष्ट्रिय उत्पादक कम्पनीले उपकरण तथा प्रविधि उपलब्ध गराउन सक्ने अवस्था रहेको छ । त्यसैले टेन्डरका सर्तहरू कुनै एउटा निश्चित कम्पनीलाई लक्षित गरेर तयार नगरिएको उनको दाबी छ ।

लागत प्रभावकारिता र प्रविधि छनोटको औचित्यबारे पनि परामर्शदातासँग विस्तृत छलफल गरिएको उनले बताए । विद्यमान संरचनालाई उपयोग गर्दै क्रमिक रूपमा प्रविधि स्तरोन्नति गर्नु नै उपयुक्त हुने निष्कर्षका आधारमा ओटीएन प्रविधि छनोट गरिएको उनको भनाइ छ ।

श्रेष्ठले आयोजनासम्बन्धी विषयमा एडीबीसँग समेत पटक–पटक छलफल र अध्ययन भएको जानकारी दिए । विभिन्न चरणमा उठेका चासो तथा प्रश्न एडीबीसमक्ष पठाइएको र एडीबीले समेत अध्ययन गरी आफ्नो धारणा प्रश्तुत गरिसकेको उनले बताए ।

आयोजनाको टेण्डर प्रक्रियामा पटक–पटक म्याद थप गरिएको उल्लेख गर्दै उनले हालसम्म सात पटक म्याद थप हुँदा करिव २२३ दिन अर्थात् सात महिना ११ दिन थपिएको जानकारी दिए ।

विभिन्न प्राविधिक विषय, उजुरी तथा सरोकारका विषयमा पर्याप्त छलफल भइसकेको बताउँदै उनले अब आयोजना अगाडि बढाउनु उपयुक्त हुने ठहरसहित बोलपत्रसम्बन्धी प्रक्रिया अघि बढाइएको बताए ।