पूर्वअर्थमन्त्री पौडेल भन्छन्,‘मुलुक आर्थिक मन्दिमा गएको संकेत देखियो’


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हाबादारी भएको प्रमाणित भएको बताए ।

उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको बताए ।

उनले भने,“ राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा हेर्दा मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको देख्न सकिन्छ । पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेको उल्लेख छ । यो अवस्था भनेको मुलुकको अर्थतन्त्र जोखिममा पर्‍यो भन्ने अवस्थाको प्रमाण हो ।”

पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी समेत गरे । उनले पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको उल्लेख गरे ।

पूर्वअर्थमन्त्री पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको आरोप लगाए ।

उनले एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको बिरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको दाबी गरे ।

मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको अरोप लगाए ।