आत्मनिर्भर हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्यान


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै अध्यक्ष गोल्यानले मुलुक आत्मनिर्भर बन्नको लागि आयात बढाउँदै राजश्व उठाउने नीति परिवर्तन हुनुपर्ने बताए ।

उनले उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवद्र्धन गर्न र न्युन बिजीकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरूको उत्पादन मूल्य भन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्नेमा जोड दिए ।

सरकारले निर्यातमुलक उद्योगहरूको प्रतिष्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमुलक उद्योगहरूलाई आवश्यक विद्युत ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई २० प्रतिशत छुट दरमा विद्युत उपलब्ध गराउनुपर्नेमा गरे ।

उनले बिलासिताका सामान रोक्नु भन्दा तिनीहरूमा भन्सारको दर बढाएर राजश्व बढाए आयात नियन्त्रण समेत हुने विश्वास व्यक्त गरे ।

गोल्यानले भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक ५ खर्ब भन्दा बढि रेमिट्यान्स नेपालमा भित्राउनसक्ने भन्दै त्यसको लागि सरकारको अग्रसरता र सहजीकरण आवश्यक पर्ने बताए ।

उनले भने,“अधिकांश उद्योग व्यवसायीहरुले यो समस्या भोगिरहेका छन् । आयात प्रतिस्थापनका लागि आत्मनिर्भर भइसकेका र हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यक छ ।

उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेकार आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवद्र्धन गर्न र टेवा पु¥याउन सोही स्तरका उत्पादनहरुको आयातमा देखिने न्युन बिजीकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरुको उत्पादन मूल्य भन्दा कममा आयात नहुनेगरी भन्सार सर्मथन मूल्य कायम गरिनुपर्दछ ।”

अध्यक्ष गोल्यानले नेपालको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक रहेको बताए ।

उनले रोजगारमुलक उद्योगको स्थापना गर्न आवश्यक रहेको पनि बताए । अध्यक्ष गोल्यानले सूचना प्रविधि क्षेत्रको वृहत्तर विकास गर्दै डिजिटल इकोनोमी, अझ भनौँ डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न आवश्यक रहेको बताए ।

उनले कृषि क्षेत्रको प्रवद्र्धनका लागि भण्डारण एवं बजारको व्यवस्थापन र कृषि प्रशोधन केन्द्रहरुको स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने,“ नेपालको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक छ । रोजगारमुलक उद्योगको स्थापना गर्न आवश्यक छ । सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास गर्दै डिजिटल इकोनोमी, अझ भनौ डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न आवश्यक छ ।”

अध्यक्ष गोल्यानले कृषि पूर्वाधारको निर्माण, मल, बिउबिजनको वितरण, कृषि यन्त्रको उपलब्धता, भण्डारण र ढुवानीको समस्या सरकारले समाधान गर्नुपर्ने बताए । कृषि यन्त्रहरूको महङ्गो खरिद प्रक्रियालाई सरल बनाउन स्थानीय सरकारले सहुलियत दरमा उपलब्ध गराउन पिपिपि मोडल अपनाउन जरुरी रहेको उनको भनाई थियो ।